एमसीसीमा दलहरुले सहमति गरे मेरो भूमिका रेफ्री मात्र हो : सभामुख सापकोटा
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताएका छन्।
आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा सभामुख सापकोटाले सबैका कुरा सुनिरहेको र आफ्नो भूमिका ‘रेफ्री’ को रूपमा मात्र हुने बताए । एमसीसीमा दलहरूकै भूमिका निर्णायक हुने बताएका हुन्।
राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न दलहरूलाई आग्रह गर्दै सभामुख सापकोटाले सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको बताए।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको उनले जानकारी दिए । सभामुख सापकाेटाले संसदमा विचाराधीन विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण समेत गराएको बताए।