विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन नमानेपछि पीडित पक्ष आन्दोलित

फागुन,२७ काठमान्डौ – लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन नमानेपछि स्थानिले आन्दोलन गरेका छन् । तनहुँको भानु नगरपालिका ९,बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए ।

तर प्रहरीले घटनालाई भवितव्य मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन मानेको छैन। फ्युचर स्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मर्स्याङ्दी नदीले बगाउँदा मृत्यु भएको थियो । उनि होस्टेलमा बस्द्दै आएक थिए। होस्टेलमा बसेका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारेको र होस्टेलमा बसेका छोरालाई मर्स्याङ्दीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् ।

डीएसपी कृष्णबहादुर कार्कीका अनुसार घटनाको अवस्था हेर्दा भवितव्य दुर्घटनाको मुद्दा आकर्षित हुने देखिए पनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान गर्छु भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए ।

भवितव्य दुर्घटना मुद्दामा अनुसन्धान गर्दै जाँदा कर्तव्य भएको देखिएमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा लगाउन मिल्छ । उहाँहरुले अहिले नै कर्तव्य ज्यानकै मुद्दा चलाउनुपर्छ भनेर जाहेरी दिएपछि लिन सकिएन उनले भने । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् । उनले उजुरी सच्याएर ल्याउन आग्रह गरिएको बताए । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पीडितले दिएको उजुरी र मुद्दाको शीर्षक नमिल्दा उजुरी नलिएको भन्ने जानकारी आएको बताए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले बताए। बुधबार लमजुङ प्रशासनमा भएको पीडित, पीडक र प्रशासनबीचको सहमतिअनुसार पीडितले उजुरी दिने र प्रहरीले मुद्दा चलाउने सहमति भएको पिडित पक्षका एक व्याक्तिले बताए। अहिले जाहेरी नलिदा प्रदर्शन र आम हड्ताल गर्नुपर्नेको उनले बताए।प्रहरीले जाहेरी नलीएको भन्दै पीडित पक्षले तनहुँको बाइसजाँगरमा सडक अवरुद्ध पारेका छन्। अहिले डुम्रे-बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध छ।

स्कुलको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै बाइसजाँगरका स्थानीयले मंगलबार विद्यालयको गेट, २ वटा स्कुल बसको सिसा, एउटा भ्यानको सिसा तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अस्रुग्यास, हवाइफायर र लाठीचार्ज गरेका थिए । स्थानीयले प्रदर्शन चर्काउने सूचाना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ देखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

पीडितले बाइसजाँगरमा टायर बालेर दिनभर सडक अवरुद्ध पारेका थिए। प्रशासनमा भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव बुझेको पीडित परिवारले बताएको छ । अहिले आएर प्रहरीले उजुरी नलिएपछि फेरी आन्दोलन गर्नुपरेको पिडित पीडित परिवारले बताएका छन् ।