टेकुमा पेट्रोल पम्पको ट्यांकी बिस्फोट दुई जना घाइते
जेठ २२ ,काठमाडौं- काठमाडौंको टेकुस्थित पेट्रोल पम्पको इन्धन राख्ने ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएका छन्।महानगरपालिका-१२ टेकुस्थित कनक पम्पको ट्यांकी आइतबार साँझ ५ बजे बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
बिस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भई काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी शाह र १८ वर्षीय दिपककुमार शाह घाइते छन्।इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको मैनालीले बताए।
किशोरीको बायाँ खुट्टा जलेर फ्र्याक्चर भएको र दाहिने खुट्टा, अनुहार दुवै हात र छाती जलेको प्रहरी उपरीक्षक मैनालीले बताए। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको उनले बताए।
त्यस्तै शाहको बायाँ गाला जलेको छ भने उनी पनि बोल्न सक्ने अवस्थामा छन्।उनीहरू दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

