पश्चिम रुकुमको आठबीसकोटमा आएको पहिरोलले पुर्दा आमा छोरीको मृत्यु
रुकुम पश्चिम – पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा आईतबार आएको पहिरोमा परेर एक घरमा ओत लागेका दुई बर्षिया छोरी सहित आमाको मृत्यु भएको छ । पहिरोमा पुरिएकी एक बालिकाको स्थानीय र प्रहरी टोलिले जीवितै उद्धार गरेको छ ।
पिपलचौरमा रहेको सामुदायीक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको हो। मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरि नगरपालिका १ मैदैकी ३० बर्षिया बालमती राना र उनकी दुई बर्षिया छोरी प्रतिक्षा राना रहेका प्रहरीले जनाएको छ।
जेठी छोरी ६ बर्षिया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठबीसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम पुनले जानकारी दिएका छन । घटना आइतवार दिउँसो साढे तिन बजेतिर भएको थियो ।
आईतबार जाजरकोटको नलगाड नगरपालिका १ स्थित माईतीघरबाट तीजको दर खाएर घर फर्कने क्रममा पानी पर्दा उनीहरु पिपलचौरमा रहेको छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।
सोहि समयमा भवन माथीबाट एक्कासी आएको पहिरोमा परेर उनीहरु पुरिएका हुन् । नेपाल प्रहरी, आठबीसकोट नगर प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने क्रममा सामुदायीक भवनको झ्यालमा चेपिएको अवस्थामा तिर्सनाको उद्धार गरिएको र दुई जनाको शव निकालिएको वडा अध्यक्ष हुकुम पुनले बताए ।
घाईते तिर्सनालाई भेरी नगरपालिका १ रिम्नामा प्राथमिक उपचार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । उनको अवस्था सामान्य रहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए।
वडा अध्यक्ष पुनका अनुसार पहिरोले सोहि ठाउँमा रहेको एक काष्ठ उद्योग समेत पुरेको छ । पहिरोले स्थानीय अनु जैसीको घर र शौचालय पुरेको छ भने सामुदायिक वनको भवन पूर्ण रुपमा क्षति भएको छ ।
पहिरोसँगै आएको बाढीले स्थानीयका केहि घर जोखिममा छन् भने धानखेती बगाएको छ क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकि रहेको छ ।
भदौ १३,-एस के सर्जन रुकुम पश्चिम

