सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित
काठमाडौँ – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो ।
सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सहमत भएपछि सहमति भएको छ । दुई पक्षबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने लगायतका विषयमा सहमति भएको छ ।
सहमतिअनुसार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने छ । कोषको व्यवस्थापन तथा सञ्चालनका लागि सरकारले ६० दिनभित्र विधेयकको मस्यौदा तयार पार्ने छ भने संघीय संसदको आउँदो अधिवेशनबाट विधेयक पास गर्ने छ ।
साथै आगामी आर्थिक वर्ष पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने पनि सहमतिमा उल्लेख छ । सरकारसँग भएको सहमतिसँगै आविष्कार केन्द्रका अध्यक्ष पुनले शुक्रबारदेखि माइतीघर मण्डलामा थालेको धर्ना स्थगित भएको छ ।
बैशाख १८