Gold
Bangad salyan

विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य नभए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमान्डौ – गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने अन्यथा त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।

आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने पनि बताए ।

विश्वविद्यालयमा हुने बन्द, हड्ताल र तालाबन्दीको अन्त्यका लागि राजनैतिक सहमति बनाउनुपर्छ , संलग्न सबै पक्षलाई अपील गर्नुपर्छ, त्यसो हुन सकेको खण्डमा हस्तक्षेप समेत गर्नुपर्ने अवस्था सिर्जना हुन्छ श्रेष्ठले भने ।

त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी हुँदै आएको छ ।

बैठकमा सहभागी ११ वटा विश्वविद्यालयका उपकुलपतिहरुले तालान्दी र अराजक गतिविधिहरुको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

विश्वविद्यालयमा शान्ति सुरक्षा कायम हुनुपर्ने उनीहरुले भनाई थियो । गृहमन्त्री श्रेष्ठले उच्चशिक्षमा शैक्षिक क्यालेण्डर लागू गर्न पनि आग्रह गरेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।

क्यालेण्डर कार्यान्वयनका लागि अनुकूल वातारण सिर्जना हुनुपर्ने र त्यसका लागि पनि बन्द, हड्ताल अन्त्य हुनुपर्ने उनले बताएका थिए ।

तालाबन्दी नियन्त्रण गर्न सरकार र गृह मन्त्रालयले साथ दिने उनले प्रतिबद्धता जनाए । उपकुलपतिहरुसँग गृहमन्त्रीले उच्चशिक्षामा लगानी बढाउनुपर्ने र अनुसन्धान संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले तालाबन्दी, गैरराजनीतिक गतिविधिका कारण उच्चशिक्षामा अराजकता मौलाएको टिप्पणी गरे । त्यसको अन्त्यका लागि राजनीतिक दलबीच सहमति गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

दलहरुले भातृ संगठनलाई रचनात्मक कार्यका लागि निर्देशित गर्नुपर्छ । विद्यार्थी, प्राध्यापक, कर्मचारीबीच पनि छलफल चलाउनुपर्छ, विश्वविद्यालय प्रशासनले सबैलाई कन्भिन्स गनुपर्छ,’ उनले भने, ‘आवश्यक परे कानुनको सहायता लिएर कठोर कदम पनि चाल्नुपर्छ ।

शैक्षिक क्यालेण्डर लागू गर्न सरकारले आयोगलाई सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए । आयोगले विश्वविद्यालयमा भईरहेको तालाबन्दी र विश्वविद्यालयमा भदौदेखि लागू भएको एकीकृत क्यालेण्डरको विषयमा बैठकमा छलफल गरेको थियो ।

उपकुलपतिहरुले विश्वविद्यालयमा हुने तालाबन्दीका कारण शैक्षिक क्यालेण्डर कार्यान्वयनमा बाधा पुग्ने हो कि भन्ने आंशका गरेका थिए ।

विश्वविद्यालयहरुमा विद्यार्थी, प्राध्यापक, कर्मचारी र स्थानीयबासीको तर्फबाट पटक पटक तालाबन्दी हुँदै आएको छ । आफ्ना माग पुरा गर्न दबाब दिन तालाबन्दी गर्दा शैक्षिक गतिविधि प्रभावित हुने गरेको विश्वविद्यालयका पदाधिकारीहरुले गुनासो पोखे । भदौ १७