गोरखा दरौदीमा ३ अर्ब लगानीमा जलविद्युत् आयोजना निर्माण हुने
गाेरखा – गोरखा नगरपालिका,१३ दरौँदी नदीमा २ अर्ब लागतमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । २ अर्ब १९ करोड ९५ लाख रुपैयाँको लागतमा याे आयोजना निर्माण हुन लागेको हो ।
मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा ९ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा डम्बरबहादुर नेपालीले जानकारी दिएका हुन।
आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए ।
सिमलगैरामा विद्युतगृह रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको उनको भनाई छ। दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।
गोरखा,१२, १३ र १४, शहीद लखन गाउँपालिकाका,१, २ र ३ तथा पालुङटार नगरपालिका ३ वडाका गरी आयोजनाले कुल ४ सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ ।
प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन १ सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने जनाईएको हो।
आयोजनाको मुख्य संरचना गोरखा,आँबुखैरेनी सडक खण्डको पहुँच क्षेत्रमा रहनेछ’, आयोजनाका इञ्जिनियर अनिल नेपालले बताए ।
अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।
कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ ।
स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए ।
प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक बलराम केसीले जनाए ।
विभागबाट अनुमति पाएपछि आउँदाे माघ पहिलो हप्तादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्ष भित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । भदौ २९