काठमान्डौको तिनकुनेमा एकै परिवारका तीन सहित ४ जनाको हत्या

काठमान्डौ – काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । दिव्य फर्निचर मिल भित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा शव फेला परेको हो ।

हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका कुमार भुजेल, उनकि श्रीमती अम्बिका र कुमारकी आमा  शुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पनि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिए।

मैनालीका अनुसार घटनाकाे अनुसन्धानका लागि काठमाण्डाैकाे तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई साेधपुछका लागि पक्राउ गरिएकाे छ ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटना राति १२ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटना वरिपरि कार्यलय मात्र रहेका छन । हत्या कस्ले र किन गर्यो भन्ने बारे प्रहरीले अनुसंधान गरिरहेको छ। भदौ ३०