इजरायलबाट नेपालीको शव ल्याउन अझै समय लाग्छ : परराष्ट्र मन्त्रालय
काठमाडौं – इजरायलमा प्यालेस्टाइन हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताईन।
इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज उड्दै छ । इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ल्याउन उक्त जहाजमा ल्याउन नसकिने प्रवक्ता लम्सालले जानकारी गरिन।
उनले भनिन यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो।
इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।
धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन् ।
यस्तै आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन् । भर्खरै दुई जना विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनु भएको जानकारी आएको छ प्रवक्ता लम्सालले भनिन् ।
सम्पर्कविहीन रहेका महेन्द्रनगरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको पनि उनले बताइन् । सरकारले बुधबार राति नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल वायु सेवा निगमको जहाज पठाउन भएको छ । असोज २४