विभिन्न नम्बरबाट धम्क्यार १५ लाख माग्ने तीन जना पक्राउ
पुस ३
चितवन – विभिन्न नम्बरबाट फोन गरेर धम्क्याउने र १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेको आरोपमा चितवन प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
रुपन्देहीको असुरैना वडा नं. १ घर भई भरतपुर महानगरपालिका वडा नं. १ मा व्यवसाय गरेर वस्ने करन गुप्तालाई बारम्बार फोन गरेर रकम मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका-१ का २६ वर्षीय दिपक बिक महानगरपालिका-२६ बस्ने वर्ष २५ को सागर बि.क. रहेका छन् । उनीहरुलाई प्रहरीले १५ लाख रकम दिने भन्दैं लोभ्याएर पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

