काङ्ग्रेस माओवादीमा खटपट गठबन्धन संकटमा
काठमान्डौ – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारीसङै सत्ता गठबन्धन संकटमा परेको छ।
पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको हो ।
कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर नयाँ समीकरण बनाउने गृहकार्य थालेका छन।
माओवादीसँगको गठबन्धन जोगाउन कांग्रेसले पनि पहल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका थिए । उनले मन्त्रीहरुको कार्य राम्रो नभएको समेत बताएका थिए ।
मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने भएकाले त्यसका लागि तयार रहन पनि देउवाले निर्देशन दिएका थिए ।
सत्ता गठबंधन संकटपछि बीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ ।
फिनल्यान्डकाे हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा रहेका थिए तर अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
कांग्रेस सभापति देउवाले मन्त्री हेरफेर गरेर भए पनि गठबन्धन जोगाउने पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्डले भने नयाँ सत्ता समीकरणका लागि छलफल बढाएका छन।
हिजो बेलुकी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान सत्ता गठबन्धनको बैठक बोलाएका छन। सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने तयारी छ। फागुन २१