Gold
Bangad salyan

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा

काठमान्डौ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गते बिहीवारदेखि देशभर एकैसाथ शुरू हुने एसईईको सबै तयारी पूरा भएको जानकारी दिएका हुन।

बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ ।

यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन।

यस पटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाण्डौ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए।

यस वर्षको एसईई चैत ७ गतेदेखि शुरू भएर १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, त्यही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ४