एमालेका सामान्य प्रशासनमन्त्रीको घुस डिल अडियो सक्कली भएको पुष्टि
साउन ६
काठमान्डौ – कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको ‘घूस डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ ।
अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै बोलाएको छ।
उक्त प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् ।
सार्वजनिक ओहोदाका पदाधिकारी एवं कर्मचारीलाई हातमा लिएर संगठित गिरोहले जग्गा खाने/मास्ने प्रपञ्चका साथ यो योजना बुनेको देखिन्छ, अडियोमा उल्लेख गरिएका सन्दर्भ र विषयले पनि यसलाई पुष्टि गर्छ,’ अख्तियारका एक अनुसन्धान अधिकारी भन्छन्, ‘यसमध्येकै दुई जनालाई बयानमा बोलाइएको हो।
सार्वजनिक भएको अडियो सक्कली पुष्टि भए पनि आवाजलाई दोहोरो परीक्षण गर्न लागिएको उनले बताए । अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानका क्रममा रहेका विषयमा बोल्न नमिल्ने बताए ।
‘यो विषय अनुसन्धानकै क्रममा छ,’ उनले भने, ‘अरू भन्न सकिँदैन ।’ बिचौलियाबाट रकम बुझेर कास्कीका मालपोत र भूमि आयोगका अधिकारीमार्फत जग्गा हडप्ने योजनाको ‘घूस डिल’ अडियो सार्वजनिक भएपछि गुप्ताले ३१ असारमा राजीनामा दिएका थिए ।
सुरुमा आरोपमा सत्यता नभएको जिकिर गरेका गुप्तामाथि कारबाहीको माग बढ्दै गएपछि बाध्य भएर राजीनामा दिएका थिए ।
सोही प्रकरणमा छोरा मनोज अधिकारीमार्फत बिचौलियाबाट रकम बुझेको आरोप लागेका भूमि व्यवस्थामन्त्री अधिकारीले भने पत्रकार सम्मेलन गरी राजीनामा नदिने र आरोपमा सत्यता नभएको जिकिर गरेका थिए ।
अख्तियारले उनलाई अनुसन्धानका लागि बयानमा बोलाएको छैन । ‘घूस डिल’ को अडियोमा समेत आवाज सुनिने नागरिक उन्मुक्तिकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ र पूर्वसचिव पोखरेल पनि पोखराको जग्गा प्रकरणमा मुछिएका छन् । अख्तियारले उनीहरुलाई पनि सोधपुछका लागि बोलाएको छैन ।

