दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले किन राजीनामा ,,
पुस,११ काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि झाले राजीनामा दिएका हुन् । मन्त्रालय उच्च स्रोतले झाले राजीनामा दिएको पुष्टि गरेका छन् ।त्यसअघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए ।
झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।
अध्यक्ष बनेका झा गत असारमा ओली सरकारले नै प्राधिकरणबाट हटाइएका व्यक्ति हुन् । उनलाई असार २० गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणबाट हटाएको थियो ।
त्यसपछि झा सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पनि पुगेका थिए । तर उनले सर्वोच्चमा दर्ता गरेको रिट आश्चर्यजनकरुपमा फिर्ता लिएका थिए ।
भदौ २१ गते सरकारले प्राधिकरणको अध्यक्षमा झालाई पुन नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष बनाए पनि उनले चार महिनामै राजीनामा दिएका हुन् ।