एप्पललाई एकैदिन ७५ अर्ब नोक्सान,

पुस,२० काठमाडौं – एप्पल ब्राण्डले एकै दिनमा भारी नोक्सान व्यहोरेको छ । आफ्नो सेयरमा गिरावट आएपछि उसलाई बिहीबार मात्रै ७५ अर्ब डलर घाटा भएको छ ।

वाल स्ट्रिटमा बिहीबार एप्पलको सेयर मूल्य १० प्रतिशतसम्म गिरावट आएको बीबीसीले जनाएको छ । यो गिरावटको दोष चीनलाई लगाइएको छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्, चीनमा एप्पलको घट्दो बिक्री यसको कारण हो ।

एप्पलले सन् २०१८ का अन्तिम तीन महिनामा हुने आम्दानीको प्रक्षेपण गरेको थियो । अन्तिम तीन महिनामा ८९ अर्ब आम्दानी जोड्ने लक्ष्य उसको थियो ।  तर कुकले ८४ अर्ब मात्रै हुने बताएका छन् ।

एप्पल अमेरिकामा सार्वजनिक सेयर खरिद–बिक्री गर्नेमध्ये सबैभन्दा ठूलो कम्पनी थियो, केही समयअघिसम्म । तर, अब उसलाई एक होइन, तीन कम्पनीले उछिनेका छन् र ऊ पहिलोबाट चौथो स्थानमा पुगेको छ । एप्पललाई माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व रहेको अल्फाबेटले पछि पारेका हुन् ।