मुख्यमन्त्री राईको मासिक खर्च ३८ लाख २८ हजार रुपैयाँ भन्दा बढी
असार १४ ,विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको छ ।
काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो । करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको छ ।
मुख्यमन्त्री राइ भने सम्पर्क कार्यालयमा कहिले आउदैनन। कार्यालयमा एक जना कर्मचारी छन्। काठमाडौंमा संघीय सरकारले मुख्यमन्त्रीहरुलाई आवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार काठमाडौं महाराजगञ्ज स्थित शर्मिला पाण्डेको घर भाडामा लिएर मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको हो ।
तर मुख्यमन्त्रीले छुट्टै आवास र कार्यालय प्रयोजनका लागि महँगो घर भाडामा लिईएको छ। मन्त्रालय स्रोतका अनुसार कार्यालयमा मुख्यमन्त्री शेरधन राई कहिलेकाहीं मात्र पुग्ने गर्छन ,मासिक साढे ३ लाख भाडा र दुई जना कर्मचारी छन् यो फजुल खर्च हो। मुख्यमन्त्री शेरधन राईको निवास विराटनगरमा पनि भाडामा छ ।
प्रदेश १ मा भाडाका नाममा मात्रै राज्यस्रोतबाट मासिक ३८ लाख २८ हजार भन्दा बढी खर्च भइरहेको छ । सातवटै मन्त्रालयले कार्यालय, आवास र गोदाम प्रयोजनका लागि घर भाडामा लिइएको छ । मन्त्रालयका सचिवदेखि नायवसुब्बा तहसम्मका कर्मचारीलाई घरभाडा छुट्टै क्वाटर उपलब्ध गराईएको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार मुख्यमन्त्रीको सम्पर्क कार्यालय, निवाससहित प्रदेशमा सरकारी कार्यालय र गोदाम भाडामा मासिक ३८ लाख २८ हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा भाडा बापत चार करोड २१ लाख १२ हजार ३९३ रुपैयाँ खर्च भइसकेको छ ।
सोही अवधिमा जग्गा भाडा बापत दुई लाख २० हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि घर बहाल तथा जग्गा भाडाका लागि सात करोड ६३ लाख नौ हजार बजेट छुट्याइएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष घर तथा गोदाम भाडा बापत चार करोड ४१ लाख ३४ हजार ८० रुपैयाँ खर्च हुँदा जग्गा भाडा बापत एक लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।


