पाटन क्याम्पसमा विद्यार्थी संगठनको आगजनी र तोडफोड
असार १४ ,काठमान्डौ – तीन विद्यार्थी संगठनले पाटन संयुक्त क्याम्पसमा तोडफोड गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।विभिन्न माग राख्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख लक्ष्मण कुँवरको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेका हुन् ।
क्याम्पस प्रशासनले बीएससी सीएसआईटी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेपछि विद्यार्थी संगठनले विरोध गरेको हो ।लकडाउन अगाडि बीएससी सीएसआईटी प्रवेश परीक्षाको नयाँ नतिजा निकालेपछि विद्यार्थीहरुले विरोध जनाएको क्याम्पस प्रमुख लक्ष्मण कुवँरले बताए।
क्याम्पसमा ९६ जनाको बीएससी सीएसआईटी कोटामा यसअघि नै ८० जनाको नाम दुई चरणमा प्रकाशित भैसकेको छ। तेस्रो चरणमा १६ जनाको नाम क्याम्पस प्रशासनले आइतबार अनलाइन प्रविधिबाट प्रकाशित गरेको थियो। जसमा विद्यार्थी संगठनले आफूहरुसंग कुनै छलफल नगरी नाम प्रकाशित गरेको भन्दै आन्दोलन र तोडफोड गरेको पाईएको हो।
विद्यार्थी संगठनहरुले सोमबार विभिन्न मागसहितको संयुक्त विज्ञप्ति पनि जारी गरेका छन् । त्यसमा क्याम्पसको शैक्षिक र भौतिक सुधारको लागि माग राखिएको थियो।
विद्यार्थीहरुले कोरोना महामारीको समयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएकाले २०७६ सालको स्नातक तहको सबै संकायको शुल्क मिनाहा गर्नुपर्ने, २०७६ सालको छात्रवृत्ति वितरण गर्नुपर्ने, परीक्षा फारम भर्न छुटेका विद्यार्थीको फारम भर्न दिनुपर्ने, अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने लगायतका माग गरेखेका छन्। त्यस्तै कक्षामा ४० जनाको दरले सेक्सन विभाजन गर्नुपर्ने, र क्याम्पस परिसरमा उत्कृष्ट वाईफाई सुविधा दिनुपर्ने पनि माग राखेका छन्।

