लुम्बिनी प्रदेशमा बजेट पारित हुनसकेन अधिवेशन मध्यरातमा अन्त्य
साउन १ रुपन्देही – लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ। बजेट पारित नहुने देखिएपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा सत्तापक्षले नै प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए ।
यसअघि बिहिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू सदन छाडेर प्रदेश सभा बैठकबाट हिँडेका थिए। सरकारले असार १ मा ल्याएको बजेट आर्थिक वर्षको अन्तिम दिनसम्म पारित गराउन नसकेकाले लुम्बिनी सरकारको राजनीतिक वैधतामाथि प्रश्न उठेको छ ।
सरकारले असार १ मा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । असार ६ गतेबाट बजेटमा छलफल गर्ने तयारी गरिएपनि त्यसो हुन सकेन। मुख्यमन्त्री पोख्रेल अल्पमतमा छन्। विपक्षिले पहिले सरकारले विश्वासको मत लिएर बहुमत देखाएपछि मात्र बजेट पारित गर्न अडान लिएर बैठक अवरुद्द गर्दै आईरहेका थिए।
८३ सदस्यीय प्रदेश लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । तर, एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् । विपक्षमा पनि कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ जना नै सांसद छन् ।

