आज साउने संक्रान्ति कर्णाली प्रदेशमा सार्वजनिक विदा
साउन १ काठमान्डौ – आज साउने संक्रान्ति देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउने गरिन्छ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।
साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरुमा सार्वजनिक बिदा लागू हुने जानकारी दिए ।
कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष महत्वका साथ साउने संक्रान्तिका अवसरमा धुमधाम मनाउन बिदा दिने गरिएको हो। संघीय सरकारले दिएका बिदाबाहेक कर्णाली प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिने निर्णय गरेको छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने परम्परा छ । आज विशेषगरि सबैको घर घरमा लुतो फाल्ने परम्परा छ। असारमा अधिकांस किसानहरु खेतमा कामम गर्ने गर्दछन।
यस्तो बेला हिलो मैलोबाट छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने गरिन्छ। परम्पराअनुसार कागभलायो,दुबो ,पाती ,कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती,पिपलका पात ,खर आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसलाई लुतो फाल्ने भनिन्छ ।यस्तै आज देखि महिलाले हरियो,चुरा ,पोते, मेहन्दीलगायत हरियो कपडा लगाउने गर्दछन।

