कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्यायो बजेट
साउन १ सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले अध्यादेश जारी गरेका हुन् ।
प्रदेश सरकारले यसअघि संसदमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । असार १ गते प्रदेश सभामा पेश गरेको बजेट एमालेको अवरोधका कारण संसदबाट पारित हुन नसकेपछि अध्यादेश मार्फत बजेट ल्याउनुपरेको प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले बताईन। प्रतिपक्षले दलको विषयलाई लिएर संसद अवरुद्द गर्दै आईरहेको थियो।


