Gold
Bangad salyan

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने बारको निर्णय

काठमान्डौ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ। प्रधानन्यायाधीशले वार्ताका लागि सोमबार आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशले निकालेको विज्ञप्ति आफुहरुले पढेको र प्रधानन्यायाधीशको राजीनामानै आफूहरुको बटमलाईन रहेको हुँदा वार्तामा नबस्ने निर्णय गरिएको बस्यालले बताए।

वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौँ –तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि निरन्तर आन्दोलनरत छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गरेका छन्।