संसद भवन अगाडि मुख्य सडकमा शंकास्पद वस्तु राख्ने व्याक्ति पक्राउ
फागुन १८ ,काठमान्डौ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा सोमबार शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेको घटनामा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चावाहिल बस्ने काभ्रेपलाञ्चोक भुम्लो गाउँपालिका-२ सिमथली घर भएका २१ वर्षीय सुवास महत रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।
जनमानसमा भय त्रास सिर्जना गरी आतंकित बनाउने उद्देश्यले उक्त ठाउँमा शंकास्पद वस्तु राखेको घटनामा संलग्न उनलाई घटनामा प्रयोग भएको मोटरसाइकल सहित महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । यस्तै उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष रहेको खुल्न आएको छ ।
घटनामा प्रयोग भएको बा.प्र.०२-०३०-प ७०८५ नम्बरको मोटरसाईकल, हेल्मेट, ज्याकेट र विभिन्न कम्पनीका ४ थान मोबाइल प्रहरीले बरामद गरेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

