सल्यान बनगाड कुपिण्डे नगरपालिकामा पालिका प्रमुखको लागि कर्ण ब छहारीको नाम सर्वसम्मतले सिफारिस
वैशाख १०
सल्यान – नेकपा माओवादी केन्द्रले सल्यान बनगाड कुपिण्डे नगरपालिकामा पालिका प्रमुखको लागि कर्ण बहादुर छहारीको नाम सर्वसम्मतले पारित गरेको छ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका उपाध्यक्षसमेत रहेका क छहारीलाई पार्टीले आउँदो वैशाख ३० गतेको आसन्न स्थानीय चुनावकोलागि सर्वसम्मत सिफारिस गरेको हो।छहारी सल्यान जिल्लाकै जनपृय र दुरदृष्टि नेताको रुपमा परिचित छन्।
त्यस्तै नेपाली कांग्रेसले बनगाड कुपिण्डे नगरपालिकामा सुन्दरा शाहीको नाम प्रदेशमा सिफारिस गरेको छ भने नेकपा एमालेले बनगाड कुपिण्डे नगरपालिकाको मेयरका लागि आशा ओलीको नाम सिफारिस गरेको छ। एमालेमा सर्वसम्मत नहुँदा ४ जनाको नाम सिफारिस भएको छ जसमा तीन जना पुरुष छन् ।
त्यस्तै पालिका प्रमुखका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमाले लगायतका दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रममालाई तीव्रता दिएका छन् ।धेरै पालिकामा सर्वसम्मत हुन् नसकेपछि दलहरुको दौड धुप चलिरहेको छ।
सल्यानमा अहिलेसम्म मुख्य गरी कांग्रेस, माओवादी र एमाले पार्टीले पालिका प्रमुखको उम्मेदवारीमा ७ जना महिलाको नाम सिफारिस गरेको छ । सर्वसम्मत नभएर धेरै आकांक्षी भएका पालिकाहरुमा महिलाको नाम सिफारिसमा परेका छन् । तर सर्वसम्मत उम्मेदवार टुंगिएको पालिकामा भने महिलाको नाम सिफारिस भएको छैन ।
नेकपा माओवादी केन्द्रले बागचौर नगरपालिकाको प्रमुखमा पार्टीकी केन्द्रीय सदस्य टीका बुढाथोकीको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । बुढाथोकीसँगै माओवादी केन्द्रबाट बागचौर मेयरका लागि ६ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुने अन्य ५ जना पुरुष छन् ।
त्यस्तै माओवादीले कुमाख र छत्रेश्वरी गाउँपालिकामा पनि महिला उम्मेदवारलाई सिफारिस गरेको छ । कुमाखमा बहालवाला अध्यक्ष दिलमाया बुढामगर र छत्रेश्वरीमा गीताञ्जली भण्डारीको नाम सिफारिस भएको छ ।यी पालिकाहरुमा पनि सर्वसम्मत सहमति नहुँदा धेरैको नाम सिफारिस भएको हो । सिफारिस हुने अन्यमा पुरुष छन् ।
त्यसैगरी नेपाली कांग्रेसले शारदा नगरपालिकाको मेयरका लागि बहालवाला उपमेयर सावित्रा बस्नेतको नाम सिफारिस गरेको छ । यो पालिकामा पनि कांग्रेसभित्र सर्वसम्मत नहुँदा मयेरका लागि बस्नेतसँगै ३ जनाको नाम सिफारिस भएको छ ,सिफारिस हुने अन्य २ जना पुरुष हुन् ।
कांग्रेसले बागचौर नगरपालिकामा प्रमिला चन्दको नाम सिफारिस गरेको छ। त्यस्तै एमालेबाट सिद्धकुमाख गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि बहालवाला उपाध्यक्ष पुष्पा बोहराको नाम चर्चा भएपनि उनि फेरि उपाध्यक्ष लड्ने भएकी हुन्।

