साथिलाई बचाउन खोज्दा २७ वटा बाँदरको मृत्यु
सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा रहेको पोखरीमा डुबेर २७ वटा बाँदरको मृत्यु भएको छ।
सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको सिचाई पोखरीमा डुबेर २७ बाँदर मरेका जिल्ला वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोती पौडेलले बताए ।
पहिला एउटा बादर पानी खान जाँदा पोखरीमा परेको र पछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादरहरु पनि सोही ठाँउमा डुबेर मरेको हुन सक्ने अनुमान गरिएको छ।
पोखरी जंगलको बिचमा रहेको कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको स्थानीयको भनाइ छ ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पान्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी ,स्थानीयबासी सबैको रोहबरमा गाडिएको छ ।

