घरपालुवा कुकुरलाई बाटोमा दिशा पिसाब गराउनेलाई कारबाही : बालेन
भदौ ३
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा घरपालुवा कुकुरलाई सडकमा लगेर दिसापिसाब गराउनेमाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
२१ औँ नगर कार्यपालिका बैठकमा ‘कुकुरको व्यवस्थापन सम्बन्धी कार्यविधि माथिको छलफलमा भाग लिँदा वडाध्यक्ष मुकुन्द रिजालले यस्तो कार्यमा कतिपय भीआईपी भनिने मान्छेहरुनै सक्रिय रहेको र यसबारे महानगरको ध्यान जानुपर्नेमा जोड दिए ।
उनले भने घरमा कुकुर पाल्ने र बाटोमा छाडेर ट्वाइलेटै बाटोमा बनाउन पाइन्छ कि पाइँदैन ? धनीमानि ठुलाबडा, अलि ठुला पदमा पुगेका मानिसहरू नै मर्निङवाकमा शेर जत्रा कुकुर लिएर निस्कने र बाटोमा दिसापिसाब गराउने प्रवृत्ति छ। यस्तो कार्यमा संलग्नमाथि महानगरपालिकाले कारबाही गर्नुपर्छ ।
महानगरले टोली परिचालन गरेर जरिवाना गर्न थाले यस्तो कार्य रोकिने उनको भनाइ थियो ।
बिहीबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको उक्त बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सगत, वातावरण समिति, विधायन समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, पूर्वाधार समितिका संयोजक मुकुन्द रिजाल र वित्त समितिका संयोजक ईश्वरमान डंगोलले आफ्ना समितिअन्तर्गतका प्रस्ताव पेस गरेको महानगरपालिकाले जनाएको छ । बैठकमा विविध २१ वटा प्रस्तावमा छलफल भएको थियो।

