बालेनले ल्याए क्रिकेट रंगशाला बनाउने प्रस्ताव
काठमाडाैं – काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रंगशाला बनाउने प्रस्ताव गरेका छन् ।
श्रीलंकामा नेपाल र भारतबीचकाे खेल मैदानमै पुगेर प्रत्यक्ष हेरेपछि आज बिहान सामाजिक सञ्जालमार्फत जग्गा उपलब्ध भए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रस्ताव गरेका हुन् ।
नेपाल सरकारले काठमाडाैं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडाैं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।
यस्तो मात्रै (श्रीलंकाकाे जस्तै) रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्ने बालेनको भनाई छ।
उनले फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमनका कर्मचारीले ‘यति धेरै नेपालीहरू एक्कास्सि श्रीलंका किन आइरहेका छन् भनेर प्रश्न साेधेकाे समेत जानकारि दिए।
त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५०० देखि २००० को बीचमा थियो । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए ।
अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड रुपैयाँ पुग्यो होला बालेनले लेखेका छन् ।
उनले टिभीमा देखिने विराट, रोहितहरूलाई आँखा अगाडि मैदानमा देख्न पाइएकाे र उनीहरूको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइएकाे उल्लेख गर्दै अगाडि भनेका छन् ।
खेलको सुरुमा उनीहरूको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भएजस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडीहरूमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन ।
तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरूको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठीक त्यही बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ । भदौ १९

