गर्लफ्रेन्डसँगको सम्बन्ध लुकाउन श्रीमतीको हत्या
बैशाख २३
सुर्खेत – भेरीगंगा नगरपालिका,१२ स्थित झिंगेनारा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओलीको हत्या उनका श्रीमान् दर्शन खत्रीले गरेको खुलेको छ।

नेपाली सेनामा कार्यरत २८ वर्षीय खत्रीले पाँच वर्षदेखि श्रीमतीसँग झगडा हुँदै आएको र यही झगडाकै क्रममा शनिबार जंगलमा लगेपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका हुन।
दर्शनले शनिबार छिन्चु बजारमा प्रेमालाई बोलाई जंगलतर्फ लगेका थिए। झगडा चुलिएपछि ढुंगाले टाउकोमा प्रहार गरी, त्यसपछि सलले घाँटी बेरेर हत्या गरेको बयान उनले दिएका छन्।
प्रेमाको शव आइतबार बिहान स्थानीयले फेला पारेपछि प्रहरीले अनुसन्धान थालेको थियो। राति नै खत्रीलाई नियन्त्रणमा लिइएको हो। उनलाई जिल्ला अदालत सुर्खेतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

केही मिडियाहरूले हत्याराको पक्षमा एकतर्फी र असंवेदनशील ढंगले समाचार सम्प्रेषण गरेको भन्दै मृतकका आफन्तहरू आक्रोशित छन्।
हत्या पश्चात् उनले श्रीमतिको मोबाईल कब्जा गरेर अन्तै म्यासेज समेत गरेका छन।
हत्या गरेपछि दर्शनले प्रेमाको मोबाइल कब्जामा लिएर त्यसै मोबाइलबाट शनिबार राति ८:३० बजे सन्तु राजीको श्रीमती लगायत आफन्तहरूलाई केही मेसेज पठाएको थियो।
उनले प्रेमाको मोबाइल क्याप्चर गरेपछि आफू प्रेमा बनेर आफूसँग एकजना केटाको तस्बिर आफ्नो श्रीमानको मोबाइलमा म्यासेज गर्दा झुक्किएर थिचिएर गएको भनेर हामीलाई झुक्याउन खोजेको देखिन्छ ।
यो पक्षले घटनामा पूर्वयोजना र प्रमाण नष्ट गर्ने मनसाय देखाएको र प्रेमा अर्कै केटासँग भागेको देखाउने कोसिस गरेको देखिन्छ भन्दै मृतक पक्षले गम्भीर ध्यानाकर्षण गराएका छन्।
साथै २३ गते भाइको विवाह छ त्यो विवाह हुनुभन्दा अगाडि प्रेमा पोइल गई भनेर हल्ला गर्ने र मानिसहरू विवाहमै लाग्छन् र यो घटना थाहा हुँदैन भन्ने हिसाबले उ प्रेमालाई हत्या गरी गाउँ आएको देखिने गरेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसंधान समेत चलिरहेको छ।

