Gold
Bangad salyan

अपहरण र डकैतीको घटनामा वाईसीएल नेता पक्राउ

असार १९

विराटनगर – विराटनगरमा भएको अपहरण र डकैतीको घटनामा  माओवादीको भ्रातृ संगठन वाईसीएलका नेता कुशल पाण्डे बुधबार पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–११ का २६ पाण्डे नेकपा (माओवादी केन्द्र)मा आबद्ध छन्। माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य पाण्डेले राजनीतिक आवरण र संरक्षणमा विभिन्न अपराध गरिरहेको पत्ता लागेको छ। अहिले उनी अपहरण र डकैतीमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन।

प्रहरीले बुधबार पक्राउ गरेर उनीविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा मुद्दा चलाउन बिहीबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

तर, उनको योजनामा भएको यो पहिलो घटना भने हैन। यसअघि पाण्डेविरुद्ध दुईवटा ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा चलिसकेको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए।

उनका अनुसार मञ्जु तामाङको जाहेरीले इलाका प्रहरी कार्यालय रानीले पाण्डेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाएको थियो।
त्यस्तै, स्माइल साफीको जाहेरीले ज्यान मार्ने उद्योग र प्रवेज आलमको जाहेरीले अभद्र व्यवहार मुद्दा चलेको डीएसपी सुनार बताउँछन्। ‘

अहिले अपहरण र डकैतीमा संलग्न भएको पाइएपछि पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको छ,’ उनी भन्छन्, ‘यसअघि पनि तीनवटा मुद्दा चलिसकेको अभिलेखबाट प्रष्ट हुन्छ।
मुद्दा चलेपछि पाण्डे फरार हुँदै आएका थिए। उनी फरार प्रतिवादीसमेत रहेको प्रहरी स्रोतले बतायो।

गम्भीर अपराधमा संलग्न भए पनि उनलाई राजनीतिक संरक्षण मिलिरहेको थियो। माओवादीको संरक्षणमा समाजमा आतंक फैलाउने र दिनदहाडै तरबार प्रहार गर्नेजस्ता घटनामा उनी संलग्न रहँदै आएको प्रहरीको भनाइ छ।
‘पाण्डे अपराध नै अपराधले घेरिएका छन्। जे गरे पनि राजनीतिक संरक्षण मिल्यो। त्यही भएकाले उनले अपराधकर्म छाडेनन्,’ प्रहरी स्रोतले भन्यो। स्रोतका अनुसार अहिले पाण्डे पक्राउ परेपछि माओवादीका केही नेताले चासो देखाउने गरेका छन।

पछिल्लो अपहरण र डकैतीको मुख्य योजनाकार पाण्डे नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अपहरण र डकैतीमा संलग्न २ जना गत आइतबार पक्राउ परेका थिए।

आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान विराटनगरका १ जना युवालाई अपहरण गरी डकैती गरेको थियो।

डकैतीमा संलग्न विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी यसअघि पक्राउ परेका हुन्। उनीहरुमाथि शरीर बन्धक बनाइ डाँका गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर उनलाई लगेका थिए।

त्यसपछि एकान्तस्थलमा पुर्‍याएर लुटपाट गरिएको थियो। हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। त्यसपछि अपहरणमा प्रयोग गरिएको स्कुटरसहित प्रहरीले २ जनालाई पक्राउ गर्‍यो। पाण्डे भने भागिरहेका थिए ।