रुकुममा काङ्ग्रेस तरुण दलका सभापति ज्यान मार्ने उद्योगमा पक्राउ
फाल्गुन ११
रुकुम पश्चिम् – रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिकामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विकास अधिकारी रहेका छन्। उनी २६ वर्षका हुन् र नेपाली काङ्ग्रेस तरुण दल बाँफिकोट गाउँपालिकाका सभापति भएको बताइएको छ।
अधिकारीलाई ज्यान मार्ने उद्योगको आरोपमा नियन्त्रणमा लिइएको हो। घटनामा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय संयोजक सचिन रोकाय र बाँफिकोट गाउँपालिकाकी सीता खड्कामाथि सांघातिक आक्रमण भएको उजुरी परेको छ।
सीता खड्काको टाउकोम घहिरो चोट लागेको छ भने अन्य भागमा चोट लागेको छ अहिले उनको जिल्ला अस्पतालमा उपचार भै रहेको जनाएको छ ।
प्रहरीका अनुसार घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहेको हुन सक्ने आशंकामा पनि छानबिन अघि बढाइएको छ।
स्थानीय स्रोतहरूले बाँफिकोट गाउँपालिकाका प्रमुख जनक कुमार बाँठाको नाम समेत चर्चामा आएको बताएका छन्, तर यसबारे आधिकारिक पुष्टि नभएको प्रहरीले स्पष्ट पारेको छ। गाउँपालिका प्रमुख बाठाले भने आफू उक्त घटनामा संलग्न नभएको दाबी गरेका छन्।
घटनापछि बाँफिकोट क्षेत्रमा राजनीतिक तनाव बढेको छ। स्थानीय प्रशासनले सम्भावित झडप वा अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वपक्षीय छलफलको तयारी भइरहेको पनि जानकारी दिइएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा प्रमाण संकलनको कार्य जारी रहेको जनाएको छ। पक्राउ परेका अधिकारीलाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अगाडि बढाइने बताइएको छ।
यस घटनाले स्थानीय तहको राजनीतिक वातावरणमा तरंग ल्याएको छ। सम्बन्धित पक्षहरूले निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।
अनुसन्धानको निष्कर्ष नआएसम्म दोषी ठहर गर्न नसकिने भन्दै सरोकारवालाहरूले संयमता अपनाउन आग्रह गरेका छन्। यश घटना प्रति नेपाली कम्युनिस्ट पार्टी ले घोर आपत्ति जनाएको छ ।

