प्रतिनिधिसभा उपसभामुख पदमा आज उम्मेदवारी दर्ता हुँदै
काठमान्डौ – प्रतिनिधिसभाको उपसभामुख पदमा आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मका समय निर्धारण गरेर कार्यतालिका प्रकाशित गरेको छ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले दिउँसो २:३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने जानकारी दिए।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति तोकेका हुन्। संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिंग र दल हुने व्यवस्था छ। सभामुखमा रास्वपा र पुरुष उम्मेदवार चयन भएकाले उपसभामुख पद महिला हुने निश्चित छ।
विपक्षी दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेकाले बहुमतप्राप्त रास्वपाले समर्थन गरेको दलका सांसद उपसभामुखमा विजयी हुनेछन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद र एक स्वतन्त्र सांसद छन्। चैत २६

