Gold

कोरोना घट्दै गए पछी अस्पतालमा बिरामीको चाप बढ्दै

Naumule Migrate

पुष २ काठमाडौं- कोरोना संक्रमण दर घट्दै गएपछि अस्पतालहरूमा अन्य रोगका बिरामीको चाप बढिरहेको छ । यसअघि ओपीडी सेवा खुला भए पनि महामारीका कारण गैरकोरोनाका बिरामी उपचारबाट वञ्चित भइरहेका थिए । चैतमा लकडाउन घोषणा भएपछि अधिकांश अस्पतालले फोनबाटै उपचार गर्ने अभ्यास गरेका थिए । सरकारले देशको केन्द्रीय अस्पताल वीरलाई कोभिड अस्पताल घोषणा गरेपछि अन्य रोगका बिरामीलाई सेवा पाउन मुस्किल थियो ।

महामारीका बीच आकस्मिक उपचारमात्रै दिइरहेको वीरमा मंसिर २४ देखि कोरोनालगायत अन्य रोगको सामान्य र विशेषज्ञ उपचार सुरु भइसकेको छ । सेवा सञ्चालनसँगै दैनिक बिरामीको चाप बढिरहेको अस्पतालका निर्देशक डा।केदारप्रसाद सेन्चुरीले बताए । ‘कोभिड अस्पतालमा मात्रै सीमित हुँदा अन्य बिरामीले दुःख पाए, अस्पतालको आम्दानी घटेर कर्मचारीलाई तलबभत्ता खुवाउन पनि गाह्रो भइरहेको थियो,’ उनले भने, ‘त्यसैले स्वास्थ्य मन्त्रालयको ​स्वीकृतिअनुसारै सबै सेवा खुला गरिएको हो ।’कोरोना महामारीअघि वीरमा दैनिक २ हजार बिरामी आउँथे । अस्पतालकै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि केही समय ओपीडी बन्द गरियो । पछि ओपीडी खुला भए पनि दैनिक ३ सय हाराहारी मात्रै बिरामी आउने गरेको डा। सेन्चुरी बताउँछन् ।

एक सातायता फेरि सेवा लिनेको संख्या दैनिक सात सय हुने गरेको उनले जानकारी दिए । ‘कोभिड वार्डमा धेरै स्वास्थ्यकर्मी खटाउनुपर्छ, उनीहरूलाई बिदा पनि दिनुपर्छ,’ उनले भने, ‘त्यसैले कर्मचारी अभाव टार्न भने सकिएको छैन । तैपनि आएजति बिरामीलाई नफर्काउने गरी अस्पताल सञ्चालन गरिरहेका छौं ।’ कोरोना संक्रमणको डरका कारण अन्य रोग पालेर नबसी उपचारका लागि अस्पताल आउन उनले आग्रह गरेका छन् ।

दैनिक दुई हजार बिरामीको घुइँचो लाग्ने पाटन अस्पतालमा पनि कोरोना संक्रमणका कारण बिरामी घटेका थिए । नाक, कान, घाँटी, आँखा र दाँत विभागमा बिरामी जाँच्दा संक्रमण सर्ने जोखिम उच्च हुने भन्दै आकस्मिकबाहेक सेवा ठप्प थियो । शल्यक्रिया पनि आकस्मिक मात्रै गरिन्थ्यो । स्वास्थ्यकर्मी संक्रमित हुनबाट बचाउने भनेर अस्पतालको सेवा सामान्य हिसाबले चलेको थिएन । अन्य विभाग खुला भए पनि दैनिक दुई सय हाराहारीमा मात्रै बिरामी आउने गरेको अस्पतालका निर्देशक डा।रवि शाक्यले बताए ।

संक्रमणदर घट्दै गएपछि मंसिर ७ गतेबाट अस्पतालले सम्पूर्ण सेवा सञ्चालन गरेको छ । ‘दिनमा ६–७ सय बिरामी आइरहेका छन्, हामीले सावधानी अपनाएर शल्यक्रियासहित सबै उपचार गर्न तयार छौं भनिरहँदा पनि अपेक्षित रूपमा बिरामीको संख्या बढेको छैन,’ उनले भने, ‘२ हजार बिरामी आए पनि उपचार गर्न तयार छौं ।’ अस्पतालको अधिकांश बेड कोरोना संक्रमितका लागि प्रयोग भइरहेकाले अन्य रोगका धेरै बिरामी भर्ना लिन भने सम्भव नभएको उनले बताए ।कान्तिपुर दैनिकमा फातिमा बानुले खबर लेखेकी छन् ।

अस्पतालको ६ सय बेडमध्ये २ सय ५० बेड कोरोना संक्रमितका लागि छुट्याइएकाले बिरामी भर्ना गर्न बेड अभाव हुने उनको भनाइ छ । ‘महामारीअघि कम्तीमा ४ सय बिरामी भर्ना गरेर राख्न सकिन्थ्यो, अब त्यो संख्याको आधा राख्न सकिएला,’ उनले भने, ‘अधिकांश जनशक्ति कोभिडमा खटिएका छन् । केही समस्या भए पनि नफर्काउने गरी सेवा दिन अस्पताल तयार हुँदै छ ।’ हात धुने, भौतिक दूरी कायम गर्ने र ज्वरोका बिरामी छिर्न नदिने नियम पालना गर्नैपर्ने भएकाले अस्पतालबाटै संक्रमण सर्ने जोखिम कम भएको उनले बताए ।

दैनिक २ हजार ५ सय बिरामी पुग्ने त्रिवि शिक्षण अस्पतालमा कोरोना महामारीका कारण मुस्किलले तीन सयले सेवा पाउँथे । अस्पतालका निर्देशक डा। दिनेश काफ्लेका अनुसार अहिले त्यो संख्या बढेर आठ सय पुगेको छ । स्वास्थ्यकर्मी नै संक्रमित हुँदै गएपछि अस्पतालका वार्डहरू हप्तौंसम्म सिल गरिन्थे । अहिले भने यस्ता समस्या घट्दै गएको र सेवा सामान्य हुँदै गइरहेको उनले बताए ।

Naumule Badhipahiro