रवि वड सुदूरपश्चिम प्रदेश पर्यटन दूतमा नियुक्त,

माघ २० ,धनगढि – नेपाल आईडल सिजन २ का बिजेता एवं गायक रवि वडलाई सुदूरपश्चिम प्रदेश सरकारले उनलाई पर्यटन दूत नियुक्त गरेको छ ।

यो संगै उनले १० जनाको टिम तयार पारी प्रदेशको महत्वपूर्ण पर्यटकीय स्थलमा पुगेर पर्यटकीय गन्तव्यको पहिचान गरी तिनीहरुको प्रचारप्रचार गर्नमा लागेका हुन् ।

स्थानीय तहको समन्वय र सहकार्यमा उनी पर्यटकीय स्थल पुग्ने छन् ।यहि माघ २२ गते देखि कैलालीको पर्यटकीयस्थल घोडाघोडीबाट सुरु गर्ने रवि वडले बताएका छन् ।

सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीयस्थल खप्तड, रामारोसन, शुक्लाफाँटा, अपिसैपाल, शैलेश्वरीलगायत क्षेत्रमा पुगेर रवि वडले प्रोजेक्ट तयार पार्ने बताएका छन् ।’

सुदूरपश्चिमका पर्यटकीयस्थल इन्ट्रो भिडियो बनाएर त्यो संगीत धुनसहितको भिडियो जुन ठाउँमा पुगे पनि प्रस्तुत गरिने उनले बताए।

यसले केहि हदसम्म भए पनि प्रदेशको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने उनको भनाई छ ।

प्रदेशका ८८ वटै स्थानीय तहमा पुगेर पर्यटकीय क्षेत्रको पहिचान गरी प्रोजेक्ट तयार हुने र तयार भएको प्रोजेक्ट जापान, युके, युएसलगायत देशमा प्रस्तुत गर्ने पनि उनले बताए ।

प्रोजेक्टका निर्देशक दशरथ सुनारले सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय स्थलको प्रचारप्रसार तथा पर्यटकलाई घुम्न सहजता हुने अपेक्षा रहेको बताए ।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखाका प्रमुख भोजराज पाठकले पर्यटक तान्नका लागि संगितले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आफुहरुले तयार गरेको प्रोजेक्ट भिडियो हरु सामाजिक संजाल देखि युटुबमा पनि राखिने उनीहरुले बताएक हुन् ।