ईसाई धर्मको प्रचार गर्दै हिडेका दुई विदेशीलाई देश निकाला ,
पुष २२ ,काठमान्डौ – प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी इसाई धर्म प्रचारमा संलग्न बेल्जियमका एक दम्पतीलाई गृह मन्त्रालयले निष्काशन गरेको छ । उनीहरुले ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा अध्ययनका लागि भिसा लिएका थिए ।
मन्त्रालयको पुस १६ को ‘सचिवस्तरीय’ निर्णयले वाल्टर स्भेन र लुसिन इभेलियनलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो । उनीहरुलाई पुष २६ गते निष्कासन गर्न लागिएको र ५ वर्ष सम्म नेपालमा प्रतिबन्ध लगाईएको अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बताए।
अहिले स्भेन र इभेलियन दम्पतीले हवाई टिकटलगायत आवश्यक कागजपत्र विभागमा पेस गरेका छन् उनले भने । धर्म प्रचार गरेको पुस्टि भएपछि निष्काशन गर्न खोज्दा दुवैले अदालत जाने भन्दै अध्यागमनका कर्मचारीलाई धम्कि समेत दिएका थिए।
धर्म प्रचार र परिवर्तन गराउँदै हिँड्नु नेपालको संविधानविपरित छ निष्काशन भन्दा अर्को विकल्प छैन भनेपछि उनीहरू विभागले तोकेको जरिवाना तिर्न तयार भएका थिए । लगतै विभागले निष्काशन प्रक्रिया अघि बढाउन उनीहरुको विस्तृत विवरण मन्त्रालयमा पठाएको थियो ।
मन्त्रालयले पनि विभागको प्रस्ताव सदर गरेको हो ।भिसा दुरुपयोग गरि विदेशी नागरिक धर्म प्रचारलगायत शंकास्पद गतिविधिमा संलग्न हुन थालेपछि विभागले प्रभावकारी अनुगमन गर्ने तयारी गरेको छ । मन्त्रालयले यसअघिपनि फिलिपिन्स, जापान, अस्ट्रेलियालगायतका ७ विदेशीलाई धर्म प्रचारमा संलग्न भएको पुष्टि भएपछि निष्काशन गरेको थियो ।
नेपालको संविधानमा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गर्न वा गराउन नहुने उल्लेख छ ।पाटन क्याम्पसमा अध्ययन गर्न भिसा लिएका पछिल्ला दुई विदेशी २०७५ सालदेखि पाँचथर फिदिममा बस्दै आएका थिए । उनीहरूले शंकास्पद गतिविधि गरेको पाईएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पत्राचार गरेको थियो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययन भिसाका लागि विभागमा सिफारिस गरेको थियो । सन २०१४ मा पर्यटक भिसा लिएर पहिलो पटक नेपाल आएका उनीहरूले पटक–पटक पर्यटक र अध्ययन भिसा लिएको देखिन्छ ।
उनीहरुले पाँचथरलाई आधार क्षेत्र बनाई जिल्लाका फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र त्यस आसपासका क्षेत्रमा इसाइ धर्म प्रचार गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।पैसाको प्रलोभनमा आर्थिक अवस्था कमजोर भएका समुदायमा गएर उनीहरूले धर्म परिवर्तन गराउन बाध्य पार्दै आएको अनुसन्धानमा खटिएका एक अधिकृत बताउछन ।
पाटन क्याम्पसमा स्नातक तहमा भर्ना भए पनि तीन वर्षदेखी उनीहरु पाँचथरमा बस्दै आएका थिए । वाल्टर स्भेन पास्टर हुन् , वाल्टरले पाँचथरमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना गर्ने र त्यस्ता कार्यक्रमबाट पनि प्रत्यक्ष समुदायमा गएर इसाइ धर्म परिवर्तन गराउँदै आएका थिए ।
खेलुकुदका कार्यक्रम गराउने र वाध्यवादन सिकाउने वहानामा बेल्जियन दम्पतीले आर्थिक अवस्था कमजोर भएको समुदायमा पुगेर विभिन्न प्रलोभनमा पारी सजिलै इसाइ धर्म परिवर्तन गराउन बाध्य पार्दै आएका थिए ।