Gold

श्रीजंग र रुद्रकुमारी दम्पत्ति जसले अस्पताललाई अर्ब मूल्यको जग्गा दान दिए ,,

Naumule Migrate

रंग दर्पण ७ फाल्गुन -काठमाडौं : श्रीजंग शाह र रुद्रकुमारी शाह दम्पत्तिले फत्तेबाल आँखा अस्पताल नेपालगन्जलाई एक अर्ब बराबरको घरजग्गा दान गरेका छन्। काठमाडौं महानगरपालिका १ कान्तिपथको तीन रोपनी बढी जमिन सहितको घरजग्गा उनीहरूले अस्पताललाई दान गरेका हुन्।

शाह दम्पत्तिले दान गरेको घरजग्गाको चलनचल्तीको मूल्य १ अर्बभन्दा बढी छ। आइतबार पत्रकार सम्मेलन गरेर शाह दम्पत्तिले घरजग्गा दान गरेको घोषणा गरेका हुन्।

काठमाडौं १ कान्तिपथस्थित ‘होटल एलो प्यागोडा’ सँग जोडिएको कित्ता नम्बर ११२३ को ११ आना १ दाम र र ११२४ को २ रोपनी ८ आना २ दाम र २ पैसा जग्गामा रहेको निजी घर ‘श्रीकुञ्ज’ र जग्गा फत्तेबाल आँखा अस्पताललाई दान गरेका छन्।

शाह दम्पत्तिले आफूहरू जीवत रुहुन्जेलसम्म उक्त घरजग्गा प्रयोग गर्ने छन्। उक्त घर जग्गा शाहको मरोणपरान्त अस्पतालको स्वामित्वमा आउनेछ। ९३ वर्षीय श्रीजंग शाहले भने, ‘जीवनको उत्तरार्धमा मैले पत्निको सल्लाहमा घर जग्गा अस्पताललाई हस्तान्तरण गरेको छु।’

घरजग्गा दान गरेर आफू अत्यन्त खुसी रहेको उनले बताए। उनले भागवत गीतामा भगवान श्रीकृष्ण र बाइबलमा जिसस क्राइस्टले भनेका भनाई सम्झँदै त्यसैको शिक्षाबाट प्रेरित भएर घरजग्गा आँखा अस्पताललाई दान गरेको बताए।

शाहले बुबाले बाबुआमाको अर्ति उपदेश मध्यनजर गरेर नै जग्गा दान गरेको बताए। उनले आफ्नो बाबुको आदेश सम्झदै भने, ‘खानदानलाई बदनाम हुने कुनै काम नगर्नू, मैले दुःख गरी कमाएको सम्पत्ति कुपात्रको हात नपरोस्, कुपात्रको हात पर्‍यो भने धर्मको सट्टा पाप आई लाग्ने छ ’ उनले बुबाको आदेश र उपदेशलाई मन्थन गरेर अगाडि बढिरहेको बताए।

यति महँगो जग्गा दान दिँदा आफन्तहरू नै बेखुसी भएको उनले सुनाए। उनले अस्पताललाई घर जग्गा दान दिने कार्यलाई आफन्तले रोक्ने धृष्टता गरेको बताउँदै भने, ‘यो मेरो पुनित र असल कार्यमा दुख दिने केही मेरा स्वार्थी नातेदारको सामना गरेको छु।’

उनले संविधानको सर्वोच्चता, विधिको शासन र लोकतान्त्रिक शासन पद्धति भएको मुलुकमा जेष्ठ असहाय नागरिकको संवैधानिक तथा कानुनी हक हनन गर्न खोज्ने प्रवृत्ति निरुत्साहित हुने बताउँदैँ आफुलू पाएको दुख कष्ट अन्य कुनै नागरिकले खेप्न नपरोस् भन्ने कामना समेत गरे।

शाहले दान गरेको जग्गा पास भएर लालपुर्जा नै अस्पतालको नाममा आइसकेको अस्पतालका प्रबन्धक डा. कौशलकुमार बर्माले बताए।

२०४३ सालमा १० शैयाबाट सुरु भएको अस्पतालमा अहिले २५० शैया सञ्चालनमा छ।

अस्पतालले वार्षिक १ लाख २० हजार बढी बिरामीको आँखा परीक्षण गरी उपचार गर्नुका साथै तीमध्ये १२ हजार बिरामीको आँखाको शल्यक्रिया सेवा दिइरहेको छ। अस्पतालमा ३ जना नेत्र विशेषज्ञ, १६ जना नेत्र सहायकसहित ७१ जना कर्मचारीहरु कार्यरत छन्।

अस्पतालका कार्यवाहक सभापति नर्बदा शर्मा खनालले जग्गादाताको सम्मान स्वरुप बर्दियाको मगरागढी र भुरीगाउँमा दुई वटा श्रीजंग रुद्रकुमारी आँखा उपचार केन्द्र फागुन महिना भित्रै स्थापना गर्ने जानकारी दिइन्।

कावा सभापति खनालले अस्पतालको प्रांगणमा श्रीजंग रुद्रकुमारीको अर्धकदको शालिक राख्ने र घरजग्गाको आम्दानीबाट अस्पतालले आँखाका बिरामीलाई घरदैलो मै सेवा दिन वृहत सामुदायिक आँखा उपचार कार्यक्रम ‘श्रीजंग रुद्रकुमारी सामुदायिक आँखा उपचार कार्यक्रम’ सञ्चालन गर्ने जानकारी दिइन्।

को हुन् श्रीकुञ्ज दान गर्ने शाह दम्पत्ति ?

वि.स. १९८० मा जन्मिएका शाहले कलकत्ता विश्वविद्यालयबाट राजनीति शास्त्र अन्तर्गत कुटनीति र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन्। समाजसेवी शाह फत्तेबाल आँखा अस्पताल नेपालगन्जका संरक्षक समेत हुन्।

शाहका बुबा कप्तान फत्तेजंग शाह र आमा बालदिव्येश्वरी शाहको नामबाट २०४३ सालमा घरजग्गा दानबाट ‘फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज’को स्थापना भएको थियो। फत्तेजंग र बालदिव्येश्वरी दम्पत्तिले करिब ३० कठ्ठा जग्गा अस्पताललाई दान दिएका थिए।

जग्गा दान दिने दाताको नामबाट नै अस्पतालको नाम राखिएको हो। पहिला बुवाआमाले आँखा अस्पतालका लागि नेपालगन्जमा रहेको घरजग्गा दानमा दिएका थिए। समाजका लागि दान गरेर सेवा पुर्‍याउने बुवाआमाको कार्यलाई अहिले छोरा श्रीजंग शाहले पनि निरन्तरता दिएका हुन्।

शाह दम्पत्तिका एक विवाहित छोरी छन्। बुवाले दानमा दिएको घर जग्गामा बनेको आँखा अस्पतालबाट नेपालगन्ज लगायत पश्चिम नेपाल र भारतका विभिन्न सहरका विपन्न नागरिकले सर्वसुलभ रुपमा उपचार सेवा पाउँदा आफूलाई निकै खुसी लागेको शाहले बताए।

पशुपति क्षेत्र विकास कोषका उपाध्यक्ष समेत रहेका श्रीजंङ सुविख्यात त्रिशक्ति पट्ट दोस्रो र गद्दी आरोहरण रजत महोत्सव पदक लगायतबाट विभूषित छन्।

शाहले विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको अल्टरनेट गर्भनर, त्रिभुवन विश्वविद्यालयका सिनेट मेम्बर, नेपाल राष्ट्र बैकका निर्देशक, तत्कालीन शाही नेपाल वायुसेवा निगमका निर्देशक, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, नेपाल नेत्र ज्योति संघका आजीवन सदस्य तथा लुम्बिनी विकास कोषका सदस्यका रुपमा भूमिका निर्वाह गरेका थिए ।साभार अन्नपुर्णपोस्ट ,,

Naumule Badhipahiro