Gold
Bangad salyan

काङ्ग्रेस उप सभापतिको कोरोना लागेर मृत्यु ,

भदौ २ ,नवलपरासी – कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ ।

नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय उपसभापति शुभाषचन्द्र गिरीको कोरोनाको कारण निधन भएको हो ।

उनी नेपाली कांग्रेसमा समायोजना हुँदा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट आएका थिए ।

केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडिमात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

उनको पित्तथैलीको अप्रेशन भैरहवा मेडिकल कलेजमा भएको थियो । अप्रेशन गरेर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको थियो । त्यहाँबाट हेलिकोप्टरबाट काठमाडौं आउन खोज्दा हेलिकोप्टरसमेत नपाएको पारिवारिक स्रोतले बताएको छ ।

त्यसैगरी एम्बुलेन्ससमेत नपाएपछि नवलपरासीबाट एम्बुलेन्स मगाएर काठमाडौं आएका थिए ।

उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा ल्याइएको थियो । तर भदौ १ गते सोमबार भेन्टिलेटरमा राखिएको थियो ।

उनको मंगलबार बिहान मृत्यु भएको हो भने अाजै अार्यघाट काठमाडौमा साझ ६ बजे प्रशासनले अन्तिम दाहसंस्कार गर्ने प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले जानकारी दिए ।

,रबिन्द्र यादव नवलपरासी पश्चिम,