विश्वराज पोखरेल एआईजीमा बढुवा ,
मङ्सिर २६ ,काठमान्डौ – प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
सरकारले बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा पोखरेललाई बढुवा गर्दै कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको हो ।
उता संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। उक्त निर्देशनलाई सरकारले वेवास्ता गर्दै बढुवा गर्ने निर्णय गरेको हो ।
पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा भावी महानिरीक्षकको एकल दाबेदार बनाउने गरी बढुवा गरिएका हुन् ।
पोखरेलकै लागि भनेर सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ एउटा एआईजीको दरबन्दी थपेको थियो ।
बुधबार राज्य व्यवस्था समितिको छलफलमा सहभागी गृहमन्त्री थापाले गृह मन्त्रालयले ५ वटा डीआईजीको दरबन्दी मात्र थप्न प्रस्ताव गरेको बताएका थिए । तर, मन्त्रिपरिषद्को प्रशासनिक समितिले एउटा एआईजीको समेत दरबन्दी थपेको बताएका थिए ।
छलफलमा सहभागी सत्तारुढ सांसदहरुले समेत एआईजीको दरबन्दी थप गर्ने निर्णयको विरोध गरेका थिए । पोख्रेलले अहिले सम्म महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको जिम्मेवारी समालेका थिए। अब रानीपोखरीको जिम्मेवारी अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पालले पाएका हुन् ।