Gold
Bangad salyan

गण्डकीमा अज्ञात भनिएका सांसद अस्पतालमा भेटिएपछि ,

काठमान्डौ – अज्ञात भनिएका राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही अस्पतालमा फेला परेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा हुने भनिएको मतदानमा शाही अनुपस्तिथित भएपछि आजको मतदान स्थगित समेत भएको छ।

दिउँसो चार बजे बैठक सुरु हुने तालिका थियो तर साढे चार बजेसम्म शाही नपुगेपछि खोजी भएको थियो । कतैबाट पनि उहाँको अवस्था थाहा हुन नसकेपछि उहाँलाई एमालेले बेपत्ता बनाएको नेपाली कांग्रेस र माओवादीका सांसदले आरोप लगाएका थिए ।

तर हराएका भनिएका सांसद शाही पोखराकै चरक अस्पतालमा भर्ना भएको अवस्थामा भेटिएका हुन् । उनले कोरोना पोजेटिभ भएको रिपोर्ट देखाएपछि भर्ना गरेर उपचार चलिरहेको अस्पतालले जनाएको छ । तर गण्डकी प्रदेश प्रयोगशालाले मङ्गलवार (हिजो) स्वाब सङ्कलन गर्दा सांसद खिमविक्रम शाहीको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।

यसअघि राष्ट्रिय जनमोर्चाले पनि आफ्ना सांसद खिमविक्रम शाहीको जीवनरक्षाको माग गरेको थियो । सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेको र उहाँको जीवन रक्षा गर्न सभामुखलाई पत्र लेखेपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेकोमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् ।चार दल मिलेर नयाँ सरकार गठनको लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको गरेका छन्।