विवेकशील साझाले भन्यो : जातिय विभेदमा पक्राउ परेकी आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य
असार १० ,काठमान्डौ – विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएको छ ।
सञ्चारकर्मी रुपा सुनारलाइ जातका कारण कोठा दिन अस्विकार गरेर पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई रिहा गराउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार आफैं प्रहरीको सिंहदरबार वृत्त पुगेका थिए ।
उनले प्रधानलाई आफ्नै गाडीमा लगेर गएका थिए। जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय जानुले अनुसन्धान नै प्रभावित भएको विवेकशील साझा पार्टीको निचोड छ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै कानुनत: दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिकाे दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसके उल्लेख छ।
यस्तै काठमाण्डाैमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझा पार्टीले सरकारसँग जोडदार माग गरेको छ।