नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा नाराबाजी तनाबग्रस्त
असार २४ काठमाडौं- नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय सुन्धारास्तिथित निगमका कर्मचारीहरुले गत मंगलबारदेखि चरणवद्ध आन्दोलन गरिरहेका छन्। कर्मचारीहरु आजपनि आन्दोलनमा उत्रीएपछि निगमको केन्द्रिय कार्यालय तनाबग्रस्त बनेको छ।
निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस गरेका छन्।
नेपालको एक मात्र राष्ट्रिय ध्वजाबाहक राष्ट्रिय नेपाल वायु सेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै कर्मचारीहरु आन्दोलित छन् । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारि राख्ने कर्मचारीले जनाएका छन्।
गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । कर्मचारीले बुधबार निगमको कार्यालयमा तालाबन्दी गरेका थिए। प्रहरीले लगाएको ताला बल प्रयोग गरेर खोलेको थियो।