नेपालमा प्रतिबन्धित ठुलो मात्रामा रेडबुल बरामद
साउन ६ काठमाडौं – नेपाल सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ रेडबुल प्रतिबन्ध गरेको छ। पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको पाइएपछि प्रहरीले बजारबाट ठुलो मात्रामा प्रतिबन्ध रेडबुल सहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रविनराज श्रेष्ठ, बाँके कोहलपुर घर भई गोंगबु बस्ने राजु पौडेल, शक्तिमाता स्टोर कपनका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल गोठाटार बसिरहेका वीरेन्द्र चौधरी छन्।
यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको प्रहरी टोलीले मंगलबार न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन, गोठाटार लगायतबाट २०२ कार्टुन ४८४८ थान रेडबुल बरामद गरेको हो। २०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री-वितरणमा रोक लगाइएको छ।
प्रारम्भिक अनुसन्धानमा उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको छ। पक्राउ परेकालाई थप अनुसन्धान भईरहेको अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले बताए।