अपमान सहेर बस्न नसकिने ओलीलाई नेपालको चेतावनी
साउन ७,काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब अपमान सहेर नबस्ने चेतावनी दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन ।
नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने चेतावनी दिएका हुन।
नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने उनको भनाई छ ।
अध्यक्ष केपी शर्मा ओलीले घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन गरेको नेपालले आरोप लगाए ।
केपि ओलीले पार्टीलाई आफ्नो मुठ्ठीमा मात्रै राख्न खोज्ने, तानाशाही प्रवृत्ति देखाउने र म नै सर्वेसर्वा हो भन्ने नेतृत्वले गर्दा एमाले यो अवस्थामा पुगेको नेता नेपालको भनाइ छ ।
निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीका कारण नेकपा एमाले तहसनहस भएको पनि नेपालले बताए ।
यस्तै ओलीले पार्टी एकता गर्ने भन्दै विभिन्न खेल खेलिरहेको समेत उनले बताए । ओलि रहितको नेकपा एमाले एकता हुन सक्ने उनको भनाई छ ।