२२ नाल भरुवा बन्दुक ओढारमा लुकाईराखेको अवस्थामा फेला
साउन ११, बागलुङ -बागलुङमा ओढार भित्र लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ ।
आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जनाएको हो ।
जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
प्रहरीले भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएको थियो। स्थानीयवासीले डराएर ओढारमा लगेर भरुवा बन्दुक लुकाएको हुनसक्ने प्रहरीको भनाई छ ।
बागलुङको पश्चिम क्षेत्रमा शिकार खेल्ने र भरुवा बन्दुक लुकाउने परिपाटी रहेछ, । हामी निस्तेज पार्ने अभियानमा छौँ हवारीले भने प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओढारमा त केहीले जङ्गलमा लुकाउन थालेका हुन सक्ने बताए ।ओढारमा फेला परेका भरुवा बन्दुकको बारेमा अनुन्सधान भैइरहेको पनि प्रहरीले जनाएको छ ।

