अफगानिस्तान युद्धमा तालिबानको विजय प्राप्त
साउन ३२ ,काबुल- अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा आएपछि विद्रोही समूह तालिबानले विजय प्राप्त भएको दाबी गरेको छ ।
दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको हो। तालिबानको राजनीतिक ब्यूरो प्रमुख मुल्लाह अब्दुल गानी बाराडरले भिडियो सन्देशमार्फत अब छिट्टै बैठक बसेर अफगानिस्तानका समस्याहरू हल गर्न थालिने बताए ।
उनले ‘अफगानिस्तानमा युद्ध सकिएको’ बताए। तालिबान राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ गानीले मुलुक छाडिसकेका छन् । उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनै विद्रोहीको भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।