चार वर्षीय बहिनीलाई बलात्कार गर्ने बझाङका एक युवालाई भारतमा फाँसी
असोज १०,काठमान्डौ – आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ ।
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।
सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएकि थिईन ।
पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।
प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार आरोपीलाई फाँसी दिएर मृत्युदण्डको सजाय सुनाएको पत्रिकामा उल्लेख छ । यो समाचार राजधानी दैनिकमा छ ।