चोर्न गएका चोर घरको छतबाट खसेर घाईते
कार्तिक २६ ,काठमान्डौ – चोरी गर्न घरको छतमा गएका युवा छतबाट खसेर गम्भीर घाईते भएका छन्। शुक्रबार बिहान विराटनगर महानगरपालिका,८ की हेमकुमारी भुजेलको घरमा छिरेका मोरङको कटहरी गाउँपालिका,२ का २५ वर्षीय सतिस विश्वास बिहान साढे २ बजेतिर लडेर घाइते भएको प्रहरीले जनाएको छ।
घरमा चोरी हुन लागेको थाहापाछी घरधनीले होहल्ला गरेका थिए। सोहि क्रममा भाग्दा छतबाट खसेर घाईते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
होहल्ला हुन थालेपछि विश्वास हेमकुमारीको घरबाट हामफालेर छिमेकी अजिम यादवको २ तले घरको छतमा पुगेका थिए । यादवको घरको छतबाट हामफालेर भाग्न खोज्दा विश्वास लडेर गम्भीर घाइते भएका छन् श्रेष्ठले भने। उनको टाउको, हात र खुट्टामा चोट लागेको श्रेष्ठले बताए।
गम्भीर अवस्थाका युवालाई उपचारका लागि तत्काल कोसी अस्पतालमा भर्ना गरिएको थियो । कोसीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ । घटनाका घटनाको बारेमा अनुसन्धान थालिएको श्रेष्ठले जनाए ।

