मोतीपुरमा जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्छौ : गृहमन्त्री खाँण
काठमान्डौ – गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवाद नागरिकस्तरदेखि समाधान गरेर औद्योगिक क्षेत्र निर्माणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सवअन्तर्गत आइतबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खाँणले यस्तो बताएका हुन्। हाल बसिरहेकाहरुलाई जबरजस्ती हटाएर जानुभन्दा औद्योगिक क्षेत्रको जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिनेतर्फ सरकारले सोच्नुपर्ने उनले बताए।
केही महिना पहिले मोतीपुर क्षेत्रका जग्गा अतिक्रमणको विषयलाई लिएर गोली चल्दा ४ जना मृत्यु भएको थियो । सो क्षेत्रमा सुकुम्बासीहरुले औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बस्दै आएको बताइएको छ ।
यो ठाउँ गृहमन्त्री खाणको गृहजिल्ला हो । उनले एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहेका लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठप्रति संकेत गर्दै बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट माग्नेहरुबाटै राजधानी अन्तै सार्ने काम भएको आरोप लगाए ।
उनले देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी गरे भने भैरहवामा तयारी पूरा भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सरकारले प्रयत्न गरिरहेको बताए ।