ओमिक्रोन भाईरस कोरोना भन्दा कति खतरनाक के भन्छ विश्व स्वास्थ्य संगठन

मंसिर १३, काठमान्डौ – दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि पत्ता लागेका कोभिड–१९ का भेरिएन्टमध्ये बी.१.१.५२९ धेरै भिन्न प्रकृतिको र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् ।

उनले यो भेरिएन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन स्पाइक प्रोटिनमा मात्र भएको उल्लेख गरेका छन् ।

कोभिडविरुद्धको खोप स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइन्छ, यदि प्रोटिनको स्वरूपमै परिवर्तन आएको खण्डमा खोप प्रभावकारी हुँदैन ।

वैज्ञानिकका अनुसार सबै उत्परिवर्तन भाइरसका लागि राम्रो मानिँदैन, यदि स्पाइक प्रोटिन परिवर्तित भएको खण्डमा भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ ।

हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा गरी ६१ जनामा देखिएको छ ।वैज्ञानिकहरूले नयाँ भेरिएन्टमा कोभिडको खोपले काम नगर्ने र संक्रमणको दर तीव्र हुनुका साथै बिरामीमा गम्भीर लक्षण देखा पर्न सक्ने बताएका छन् ।

नेपालमा हालसम्म डेल्टा प्लससहित अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरिएन्ट पुष्टि भएको छ । नेपालमा पछिल्लो समय देखिएको महामारीको दोस्रो लहरका लागि डेल्टा भेरिएन्टलाई जिम्मेवार मानिएको छ ।

तर डेल्टा भेरिएन्टको दाँजोमा ‘बी.१.१.५२९’ को ‘रिसेप्टर बाइन्डिङ डोमेन’ मा समेत १० प्रकारको परिवर्तन (म्युटेसन) पाइएको हुँदा अत्यन्त सतर्कता अपनाउनुपर्ने भाइरोलोजिस्ट एवं प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रले बताए ।‘

बेलायती वैज्ञानिकले समेत नयाँ भेरिएन्टलाई लिएर चेतावनी दिएका छन् । नयाँ भेरिएन्ट आफ्नो स्पाइक प्रोटिनमा परिवर्तन गरेर तीव्र गतिले फैलिइरहेको छ ।’

उनले नेपालीहरूको बाक्लो उपस्थिति रहेको हङकङमा समेत नयाँ भेरिएन्ट देखिनु चिन्ताको विषय भएको बताए । ‘दक्षिण अफ्रिकाका साथै नेपालीको उल्लेख्य उपस्थिति रहेको हङकङमा समेत नयाँ भेरिएन्ट फेला पर्नु नेपालका लागि खतराको संकेत हो ।

त्यसैले अत्यन्त सतर्कता अपनाउनुपर्ने खाँचो छ,’ उनले भने । हाल नेपाल वायुसेवा निगमले काठमाडौं–हङकङ उडान सातामा एक दिन गरिरहेको छ ।नयाँ भेरिएन्टका कारण महामारीको जोखिम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार आकस्मिक बैठक बोलाएको छ ।

डब्लूएचओका महामारीविद् डा. मारिया वान केरखोबले कोभिड भाइरसको नयाँ भेरिएन्टबारे जानकारी दिँदै भनेकी छन्, ‘यो भेरिएन्टबारे हामीलाई धेरै थाहा छैन ।

यति भन्न सक्छौं कि यसको धेरै स्वरूप परिवर्तन भइसकेको छ । यो भाइरसको प्रभाव जान्न हामीलाई केही साता लाग्छ ।’ डब्लूएचओले शुक्रबार नै दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफलसमेत गरेको छ ।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागले पनि सूचना जारी गर्दै नयाँ भेरिएन्ट सोचिएभन्दा छिटो फैलिइरहेको उल्लेख गरेको छ ।

तर डेल्टा भेरिएन्टजस्तो संक्रामक छ/छैन भन्ने यकिन हुन भने बाँकी रहेको विभागले जनाएको छ । दैनिक दुई सयजति नयाँ संक्रमित देखिइरहेको दक्षिण अफ्रिकामा बिहीबार मात्र एक्कासि त्यो संख्या बढेर २ हजार ४ सय ६५ पुगेको छ ।

दक्षिण अफ्रिकामा हालसम्म २४ प्रतिशतले मात्र खोपको पूर्ण डोज लिएका छन् । बेलायतले नयाँ भेरिएन्ट भित्रिन नदिन दक्षिण अफ्रिकालगायत ६ वटा अफ्रिकी मुलुकबाट हुने आवागमनलाई रोक लगाउने निर्णयसमेत गरेको छ ।

।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले नयाँ भेरिएन्ट भेटिएका र संक्रमण बढेका मुलुकबाट आउने सबै यात्रुलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत सतर्कता अपनाउन थालिएको जानकारी दिए । ‘

यात्रामा रहेका मात्र नभएर हामीसमेत जोखिममा छौं,’ डा. पौडेलले भने, ‘जुन देशमा नयाँ भेरिएन्ट देखिएको छ, त्यहाँबाट आएका यात्रुलाई ध्यानमा राख्दै हेल्थ डेस्कमार्फत थप स्वास्थ्य सतर्कता अपनाउन थालिसकेका छौं ।