बादल लगायतका नेताहरूलाई गद्दारी घोषणा गर्न माग
काठमान्डौ – नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् ।
पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् ।
प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै ‘बादल लगायतका नेताले गद्दारी गरेकाले उनिहरुले गरेको गद्दारीबारे दस्तावेज समेट्नुपर्ने बताएका हुन ।
त्यस्तै उनले पार्टीमा कार्यकर्ता मुल्याङकनको विधि बनाउन पनि माग गरेका छन। ‘कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ’, नेम्वाङले आफ्नो पार्टीको सरकारले गरेका कामहरुलाई उपलव्धिका रुपमा अध्यक्षको दस्तावेजमा समेट्न सुझाव दिए ।
प्रचण्डको दस्तावेज मुलत सही भएको भन्दै उनले दस्तावेजले पार्टीलाई सही दिशामा हिडाउने संकेत मिलेको र नेताहरुले आफुलाई आफैले रुपान्तरण गर्ने कुरा राम्रो भएको बताए । भारत र चीनसँगको सम्बन्धका बारेमा पार्टीमा थप व्याख्या आवश्यक रहेको नेम्वाङले सुझाव दिए ।

