भारतले लिपुलेकमा गरिरहेको सडक विस्तारको कार्य रोक्न एकीकृत समाजवादीको माग
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेकमा भारतले सडक विस्तार गरिरहेको कार्य रोक्न निर्देशन दिएको छ।
एकीकृत समाजवादी)ले लिपुलेकबाट मानसरोवर जाने सडक विस्तार भइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै विज्ञप्ति निकालेको हो।
समाजवादी पार्टीका विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक नेपाली भूमि भएको र सो क्षेत्रमा गरिने निर्माणका बारेमा नेपाल सरकारको जानकारी बेगर सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो।
भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिव्वतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका थिए।
भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै नेपालले आपत्ति जनाइसकेको छ। तर भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको हो।