Gold
Bangad salyan

स्वास्थ्य मापदण्ड पालना गरी माघी मनाउन प्रधानमन्त्रीको आग्रह

माघ १,काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालन गरि माघी मनाउन आग्रह गरेका छन्।

हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड-१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका हुन्।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाईने गरिन्छ । हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताएका छन्।

यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन्।प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सदभाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन्।